- News Summary
पूर्वराज्यमन्त्री बिमला बिकले काठमाडौंमा दलित भएकै कारण मन्त्री र सांसद हुँदा समेत कोठा पाउन दुःख झेल्नुपरेको बताइन् ।
- तर, घरबेटीहरूको सुरुवाती कुरा र जात थाहा पाएपछिको व्यवहारले जातकै कारण कोठा दिन रोकिएको कुरा कुरा बुझ्न राज्यमन्त्री भइसकेकी बिमलालाई गाह्रो भएन ।
- तर, केहीबेरमै घरबेटीको फोन आयो – ‘अहिले एक जना साथीले लिइसकेछन्, फ्ल्याट त नमिल्ने भयो ।’ पटकपटक यस्ता समस्या झेलेकी बिमलालाई यसपटक पनि आफूलाई दलित भएकै कारण कोठा दिने निर्णय घरसल्लाहपछि घरबेटीले फेरेकोको बुझ्न गाह्रो भएन ।
- यसरी विभेद झेल्नुपर्ने अवस्था अहिले पनि उस्तै छ,’ पछिल्लो समय माइतीघरमै धर्ना दिइरहेकी उनको अनुभव छ, ‘आन्दोलन गर्न आउन पनि दलित साथीहरू डराउनुहुन्छ, किनकी यहाँ आएपछि फोटो/भिडियो बाहिर आउला र यी कुरा घरबेटीले थाहा पाउलान् भन्ने डर धेरैमा देखिन्छ ।

News Summary
- पूर्वराज्यमन्त्री बिमला बिकले काठमाडौंमा दलित भएकै कारण मन्त्री र सांसद हुँदा समेत कोठा पाउन दुःख झेल्नुपरेको बताइन् ।
- काठमाडौंमा घरबेटीबाट जातीय विभेद भोगेपछि न्यायका लागि लडिरहेकी दीपा नेपालीको मुद्दा चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ ।
- राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले कानुनी झन्झट र अविश्वासका कारण दलित समुदायमा थर नै संशोधन गर्ने प्रवृत्ति बढेको बताए ।
२०७४ सालको चुनावपछि बर्दियाबाट समानुपातिक सांसद चुनिएर बिमला बिक काठमाडौं आइन् । अब उनलाई बस्न कोठा चाहिएको थियो । देशको संसद्मा बोल्ने अधिकार पाएकी थिइन्, तर राजधानीमा टाउको लुकाउने बास थिएन । कोठा खोज्न विभिन्न घरमा पुगिन् । तर, शहर जति फैलिएको थियो त्यही शहरमा बस्ने घरवालाहरूको मानसिकता चाहिँ साँधुरो ।
घरबेटीहरूले ढोका खोल्नुअघि नै सोध्थे – को हो ? कहाँबाट हो ? अनि जात के हो ?
जात थाहा पाएपछि अधिकांशको अनुहार फेरिन्थ्यो । सिधै कोठा दिन्नँ पनि भन्दैन थिए । ‘सल्लाह गरेर भनौंला’ भन्दै टारिदिन्थे । सल्लाह गरेर कसैले पनि उनलाई जवाफ फर्काएनन् । धेरै खोजी गरेपछि एकजना नजिकको साथीको सहयोगमा अनामनगरमा कोठा मिल्यो ।
सकसपूर्ण तरिकाले कोठा पाएकी बिमला केहीसमय त्यहीँ बसिन् । २०७७ सालमा आइपुग्दा उनको जिम्मेवारी थपियो । उनी राज्यमन्त्री बनिन् । पद बढ्यो, जिम्मेवारी बढ्यो, तर सामाजिक विभेदबाट कहिल्यै मुक्ति मिलेन ।
मन्त्री भएपछि सरकारी नियमअनुसार प्रहरी र आर्मीसहित बस्नुपर्ने हुन्छ । जुन घरमा बस्दै आएकी थिइन्, त्यो घरबेटीले सुरक्षाकर्मीसहित बस्न दिन मानेनन् । सरकारको तर्फबाट पनि राज्यमन्त्रीलाई आवास उपलब्ध गराउने व्यवस्था थिएन । पहिलोपटक सांसद् हुँदा बासस्थान खोज्ने जुन दु:ख उनले झेलेकी थिइन्, सोही क्रम पहिलोपटक मन्त्री हुँदा पनि दोहोरियो ।

फ्ल्याट खोज्न जाँदा जब दलित भएको कुरा आउँछ, घरबेटीका नाक खुम्चिन्थे । सिधै दलित भएकै कारण दिन्नँ पनि भन्दैन थिए ।
तर, घरबेटीहरूको सुरुवाती कुरा र जात थाहा पाएपछिको व्यवहारले जातकै कारण कोठा दिन रोकिएको कुरा कुरा बुझ्न राज्यमन्त्री भइसकेकी बिमलालाई गाह्रो भएन ।
‘सुरुमा कोठा/फ्ल्याट छ भन्ने, पछि नामथर सोधिसकेपछि ‘सल्लाह गरौँला’ भनेर पन्छाइदिने गर्थे । मुखले नभनेपनि व्यवहारले यी कुरा स्पष्ट बुझिन्थ्यो,’ हाल एमाले केन्द्रीय सदस्य रहेकी बिमलाले अनलाइनखबरसँग अनुभव साटिन् ।
राज्यमन्त्री भइसक्दा पनि जातीय विभेद भोगेकी उनी अन्तमा कुनै विकल्प नभएर पुल्चोककै मन्त्री क्वार्टरमा पुगिन् । उनका अनुसार, त्यहाँ एकजना अर्का व्यक्तिको नाममा कोठा थियो, जो त्यतिबेला त्यहाँबाट बिदा हुँदै थिए । त्यसपछि बिमला त्यही कोठामा जबरजस्ती बस्न बाध्य भइन् ।
यसरी देशकै राजधानी काठमाडौंमा कोठाको संघर्ष गरेकी उनलाई अहिले देशकै तेस्रो ठूलो दलको केन्द्रीय सदस्य हुँदा पनि विभेदले छाडेको छैन ।
केही हप्ताअघि मात्र घटेको नयाँ त्यस्तै घटनाको उदाहरण उनले दिइन् । घट्टेकुलोमा उनले एउटा फ्ल्याट हेरिन् । मन पनि पर्यो । भाडाको कुरा सबै मिल्यो । चार बजेतिर आएर ‘एड्भान्स’ छाड्ने कुरा भयो ।
तर, केहीबेरमै घरबेटीको फोन आयो – ‘अहिले एक जना साथीले लिइसकेछन्, फ्ल्याट त नमिल्ने भयो ।’ पटकपटक यस्ता समस्या झेलेकी बिमलालाई यसपटक पनि आफूलाई दलित भएकै कारण कोठा दिने निर्णय घरसल्लाहपछि घरबेटीले फेरेकोको बुझ्न गाह्रो भएन ।
बिमलाका अनुसार, यस्ता थुप्रै उदाहरण उनीसँग छन् ।
२०७४ सालमै सांसद रहेकी आशा विकले पनि काठमाडौंमा कोठा खोज्दा त्यस्तै अनुभव गरेकी थिइन् । पूर्वसांसद कल्लुदेवी विश्वकर्माको अनुभव पनि फरक छैन । अझ उनले त ‘कोठा खोज्दै दश ठाउँ पुग्दा विश्वकर्मा भनेपछि घरबेटीले पन्छाइदिएको’ अनुभव यसअघि पनि सुनाउँदै आएकी छन् ।
‘सांसद र मन्त्री भएकाले पनि यस्तो भोग्नुपर्छ भने, एक सामान्य दलित मान्छेको अवस्था कस्तो होला ? जसको नाम चिनिँदैन, जसको पद छैन, जसको गुनासो सुन्ने कोही छैन – उनीहरूको कथा कहिले बाहिर आउला ?,’ पूर्वसांसद् बिमला बिकले भनिन् ।
०००
कैलालीकी दीपा नेपाली उच्च शिक्षा पढ्ने सुरले काठमाडौं आइन् । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गर्दा उनको सपना थियो – राम्रोसँग पढेर अधिकृत बन्ने, वकिल बन्ने र परिवारमा खुसी ल्याउने । तर शहर छिरेपछि उनले सोचेजस्तो सहज भएन । पहिलो चुनौति नै आफ्नो बासस्थान खोज्नु रह्यो । विभिन्न ठाउँमा कोठा खोज्दा दलित भन्दै पन्छाइएपछि उनी बिचल्लीमा परेकी थिइन् ।
सोही क्रममा २०७६ मंसिरमा तार्केश्वर नगरपालिका वडा नं १० नेपालटारस्थित हिले टोलमा अनुसन्धान अधिकृत श्रीकृष्ण बिडारीको घरमा दुई कोठा भाडामा लिइन् । बस्नु अगाडि (मंसिर १०) गते श्रीमती राधिका बिडारीले दुईवटा कोठाको पाँच सय रुपैयाँमा अग्रिम बुकिङ गराइन् । दुई दिन कोठामा रङ लगाउने समय लिइन् ।
‘सुदूरपश्चिमका मान्छे सोझा हुन्छन्, तपाईं जस्तालाई नै दिन्छु । ४/५ वर्ष बस्ने मान्छे चाहिएको छ,’ राधिकाले दीपासँग भनिन् । रङ लगाएपछि दीपासहितका साथीहरुले केही सामान लगेर राख्नमात्र भ्याएका थिए, घरबेटीकी छोरी शर्मिला परिचय गर्न आइन् । दीपाले आफ्नो नाम र थर सबै बताइन् ।
परिचय खुलेपछि घरको वातावरण एकाएक बदलियो । अर्को दिन बिहानै घरबेटी ढोका ढकढक्याउँदै आएर भनिन्, ‘तिमीहरू तल्लो जात रहेछौ । थर थाहा नभएपछि यत्तिकै कोठा दिइहाल्यौँ । हाम्रोमा त बस्न मिल्दैन । त्यसमाथि घरमा बुबाको मृत्यु भएको छ, अब घर शुद्ध गर्नुपर्छ । समाजले पनि अफ्ट्यारो हामीलाई पार्छ । तुरुन्तै कोठा छोडेर जानु ।’
यो घटनापछि दीपाको जीवन नराम्रोसँग प्रभावित भयो । घरबेटी र बहालमा बस्नेहरू मिलेर पानी कटौती गरे, बिजुलीको बिल बढाए, बाहिरका मान्छे ल्याएर धम्की दिए र कुटपिटको प्रयास पनि गरे । अन्तमा उनीहरूलाई जबरजस्ती कोठाबाट निकालिदिए ।
त्यसपछि पनि कोठाको लागि निकै संघर्ष गरिरहनुपर्यो । यो देख्दा कतिपय दलित साथीहरूले नै ‘थर फेरेर बस्न’ अनुरोध गर्थे । दीपाका अनुसार, काठमाडौंमा टिक्नकै लागि पनि थर फेर्न बाध्य बनेका थुप्रै व्यक्तिलाई उनले नजिकबाट चिनेकी छिन् । तर, उनी स्वयंलाई भने आफ्नो पहिचान लुकाएर हिँड्न मन भएन ।
पहिलोपटक नै कोठाबाट निकालिएपछि दीपाले चुप लागेर बसिनन् । तर, बालाजु प्रहरी वृत्तमा निवेदन दिए पनि कसैले पत्याएनन् । त्यसपछि उनले पत्रकार सम्मेलन गरेर आफूमाथि भएको जातीय विभेदको कुरा सार्वजनिक गरिन् । केही मिडियाले समाचार बनाए । गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा पुगेर अडियो प्रमाण सुनाइन्
अन्ततः २०७६ फाल्गुन २२ गते श्रीकृष्ण बिडारी, राधिका बिडारी, जनकराज ढुंगाना र सन्तोष ढुंगाना विरुद्ध जातीय विभेदको मुद्दा दर्ता भयो । मुद्दा लड्दा दीपाको पढाइ पूरै बिग्रियो । जातीय विभेदकै कारण विश्वविद्यालयका किताब बोक्ने ब्यागमा एक भारी मिसिल बोक्दै न्यायिक निकाय धाइरहिन् । यद्यपि, त्यो मुद्धा अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।

न्यायको ढोका ढक्ढकाउँदै उनले यहीबीचमा आठपटक त कोठा सर्नुपर्यो । हरेक नयाँ घरबेटीलाई पुरानो समाचार थाहा भएपछि पनि कोठा छोड्न दबाब आए ।
कैलालीदेखि काठमाडौं पढ्न आएकी दीपासँग अन्य केही सरसामान हुने कुरै थिएन । भएका किताबहरू पोलिथिनमा बाँधेर बसाईँ सरिरहिन् । पढ्ने समय र वातावरण दुवै बिग्रियो । मास्टरको पढाइ र लोकसेवा तयारी दुवै अधुरै रहे । उनका भाइबहिनीहरू पनि मानसिक तनावमा परे र दुई वर्ष आफ्नो पढाइ छोड्नुपर्यो ।
‘सबैले दलित भएको थाहा पाएपछि कोठा नै दिँदैनन् । यसरी विभेद झेल्नुपर्ने अवस्था अहिले पनि उस्तै छ,’ पछिल्लो समय माइतीघरमै धर्ना दिइरहेकी उनको अनुभव छ, ‘आन्दोलन गर्न आउन पनि दलित साथीहरू डराउनुहुन्छ, किनकी यहाँ आएपछि फोटो/भिडियो बाहिर आउला र यी कुरा घरबेटीले थाहा पाउलान् भन्ने डर धेरैमा देखिन्छ । त्यसमाथि थर फेरेरै बस्न बाध्य थुप्रै दलित साथीहरुलाई त म प्रत्यक्ष नै चिन्छु ।’
सडकमा प्रदर्शन गर्दा पनि कतिले त ‘रुपा सुनारको नाम लिएर’ डलरे ट्याग झुन्डाइदिने गरेको दीपाको अनुभव छ । जबकी रुपा सुनार स्वयं यसअघि कोठा भाडामा खोज्न जाँदा दलित भएकै कारण नदिइएको घटनाकी पीडित हुन् । कोठा हेर्न गएकी रुपाले आफू कामीकी छोरी बताएपछि कोठा नदिइएको भन्दै घरबेटीविरुद्ध न्यायिक लडाइँ पनि लडेकी थिइन् ।
आफूमाथि भएको यिनै अपमान र अन्यायविरुद्ध लड्दा उनलाई डलरे ट्याग समाजले लगाइदिएको र सोहीअनुसार सबै अधिकारकर्मीलाई हेर्ने गरेकोमा दीपा दु:खी सुनिन्छिन् ।
यसरी काठमाडौंभित्रै सामान्य कोठा खोजीकै विषयमा संघर्षरत थुप्रै दलित साथीका नाम कण्ठस्थ छन् । ‘किरण बिक, निर्जन बिक, बिमला बिक, जौमती नेपाली, लक्ष्मी सेन्चुरी, कैलाश बिक, प्रकाश खाती… हामी दलित समुदायका अधिकांश व्यक्ति आजपनि यो शहरमा विभेद झेल्न बाध्य छौँ । अझ गाउँतिरको अवस्था कस्तो होला,’ आफूनिकट साथीहरुको नाम लिँदै उनले भनिन् ।
यो समाचारमा तपाईंको प्रतिक्रिया:









प्रतिक्रिया दिनुहोस्